व्यवस्थापिका संसदमा आउँदो बुधबार प्रधानमन्त्री चयनको लागि १७ औं पटकको निर्बाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले आउँदो २८ गते बुधबार प्रधानमन्त्री निर्बाचनको मिति तय गरेको थियो ।
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी कायम रहने की नरहने भन्ने विवाद जारी रहँदा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्री निर्बाचनको तिथि तय भएको जानकारी गराउनु भयो । सभामुख नेम्वाङले मंसिर ३ गते बसेको संसदको बैठकमा मंसिर १६ गतेका लागि प्रधानमन्त्री निर्बाचनको मिति तोकिए पनि चालु आठौं अधिवेशन अन्त्य भएकोले आधारभुत संवैधानिक दायित्वबाट अलग हुन नसकिने भएकोले विचाराधिन कार्यसूचीलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
बुधबार पनि पौडेलको प्रस्ताव विफल भए निर्बाचनको नयाँ प्रक्रियामा जानु पर्ने छ । बहुमत सभासद रहेका एकीकृत नेकपा माओवादी र नेकपा एमाले पौडेलको विपक्षमा रहेकाले उम्मेदवारी फिर्ता लिन काङ्ग्रेसलाई दवाव बढेको छ । यसैबीच आउँदो मंगलबार अपरान्ह तीन बजे संविधानसभाको बैठक बस्ने भएको छ ।
No comments:
Post a Comment