“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, January 15, 2011

स्पेनको बुल फाइटु सम्झाउने, तारुका गाउँको गोरुजुधाइ

कपिलदेव खनाल
स्टार स्पोर्टस, टेन स्पोर्टसलगायतका विदेशी खेलकुद टेलिभिजन च्यानलहरूमा स्पेनको राष्ट्रिय खेल बुल फाइटु हेर्दै आएका नेपालीलाई नेपालमा पनि हरेक वर्ष साँढे -गोरु० जुधाई प्रतियोगिता हुन्छभन्दा अचम्म लाग्नसक्छ ।
नुवाकोट तारुका माघ २ हिजो /
गाउँका अजङ्ग साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगितालाई नुवाकोट जिल्लाको तारुका गाउँ विकास समितिले सय वर्षभन्दा लामो समयदेखि निरन्तर आयोजना गर्दै आइरहेको छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह वि.स. १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो ।
माघे सङ्क्रान्ती पर्व ध्यू, चाकु, तरुल आदि खाएर मनाइने यो पर्व तारुकामा भने सयौँ वर्षदेखि ती परिकारहरूको अलावा यो गोरुजात्रा नुवाकोट जिल्लाको तारुकावासीको पहिचान नै बनिसकेको छ ।
स्थानीय झिँगटी घरबाट सुरु भएको उक्त खेल परम्परा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन आयोजना गरिन्छ । माघे सङ्क्रान्तिमा आफूले पालेको साँढे जुधाए नाम कमाउने धुनमा गाउँलेहरू आफू गुन्द्रुक खाएर गोरुलाई मास खुवाई पाल्छन् । आफूले रुखोसुखो खाएर गोरुलाई मीठोमसिनु खुवाएर पाल्ने गरेको यहाँका गोरुपालकहरूको भनाइ छ ।
जुधाउनकै लागि गोरुलाई छोराछोरी जत्तिकै स्याहार-सुसार गर्ने गरिन्छ, स्थानीय वृद्ध झमबहादुर प्रधान भन्नुहुन्छ ।
तारुकावासीले शनिबार पाँच हल गोरुलाई प्रतियोगिको रूपमा र तीन हल गोरुलाई सहभागीको रूपमा मैदानमा उतारेका थिए । गोरुको लडाइँ हेर्न तारुका गाविसमा २० हजारभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सुरुमा मनोरञ्जनको लागि मात्र रहँदै आएको गोरु जुधाईको परम्पराले चौतर्फी प्रचार पाउन थालेपछि परिमार्जन गर्दै लगिएको आयोजक समितिका अध्यक्ष खतिवडाले बताउनुभयो । विगत केही वर्षदेखि नुवाकोट, धादिङ, रसुवा, काठमाडौँलगायतका जिल्लाबाट दर्शकहरूको उपस्थिति बढ्न थालेपछि यहाँ जात्रा व्यवस्थापनको लागि आयोजकले सयौँको सङ्ख्यामा स्वयंसेवकसमेत खटाउन थालेको छ । गोरु जुधाउने परम्परालाई दीर्घकालीन रूपमा निरन्तरता दिन गाउँलेहरूले गत वर्षदेखि जग्गा सहयोग मागेर गोरु जात्राको लागि मैदानसमेत जोहो गरेका छन् । यहाँ १२ रोपनी बारीको पाटो गोरु जुधाउन छुट्याइएको छ ।
यसैबीच आजको गोरु जुधाई हेर्नका लागि नेपाली काँग्रेसका सभासद् तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, नेकपा एमालेका नेता महेन्द्रबहादुर पाण्डेलगायतका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । उहाँहरूले तारुकाको जोरु जात्रा हेरेपछि गोरखापत्रसँग प्रतिक्रिया दिँदै यस्ता प्रकारका नौलो संस्कृति जर्गेना गर्नको लागि राज्यपक्षबाट समेत मद्दत हुनुपर्ने भनाइ राख्नुभएको छ ।
यो निकै भिन्न स्वादको संस्कृति हो, यहाँका किसानहरूले आफ्नै क्षमतामा धानिरहेको परम्परा बचाउन चौतर्फी पहल र चासोको बेला भएको सभासद् केसीले भन्नुभयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika