कान्तिपुर, काठमाडौ, चैत्र ५
भूकम्प र सुनामीपछि जापानमा विस्फोट भएको न्युक्लियर प्लान्टबाट निस्केको विकिरण नेपालसम्म नआउने विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका न्युक्लियर फिजिक्स, न्युक्लियर केमिस्ट्रीका प्राध्यापक, रेडियोलोजिस्टलगायतका विशेषज्ञहरूसितको छलफलपछि विकिरण आइपुग्ने कुनै सम्भावना नरहेको निष्कर्ष निस्केको मन्त्रालयका सचिव रामहरि अर्यालले जनाए ।
उनका अनुसार विज्ञहरूले जापानदेखि नेपालसम्मको लामो दूरी, हाल हावा पश्चिमबाट पूर्वतर्फ चलिरहेको र विस्फोट पनि सानो परिमाणमा भएकाले त्यहाँबाट नेपालसम्म विकिरण आइपुग्न नसक्ने बताएका छन् । नेपालमा जापानको न्युक्लियर प्लान्ट विस्फोटको विकिरण आइपुग्ने कुनै सम्भावना छैन । त्यसप्रति कुनै चिन्ता लिनु पर्दैन, विज्ञहरूको भनाइ उद्धृत गर्दै अर्यालले भने ।
विज्ञान मन्त्रालयका अधिकारीले न्युक्लियर सोसाइटीका अध्यक्ष कमलकृष्ण श्रेष्ठ, रसायन र भौतिक शास्त्रका प्राध्यापकहरू डा। तुलसी पाठक, कञ्चन अधिकारी, राजु खनाल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिस्टारसमेत रहेका रेडियोलोजिस्टलगायतसित छलफल गरेको थियो ।
No comments:
Post a Comment