“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, March 7, 2011

विदेश सयरमा सभासदहरू

राजेन्द्र फुयाल  कान्तिपुर
काठमाडौ, फाल्गुन २४ - सभासदहरूको मुख्य काम नयाँ संविधान निर्माण गर्नु हो । अन्तरिम संविधानले उनीहरूलाई नियमित विधायकी कार्यको पनि जिम्मा दिएको छ । सरकार बनाउने र सुशासन भए/नभएको अनुगमन गर्ने दायित्व पनि उनीहरूकै हो ।

तर संविधानसभा गठन भएको दुई वर्ष नौ महिनको अवधिमा विदेश सयर गर्ने सभासदहरूको सूची हेर्दा लाग्छ, उनीहरू विदेशाटनका निम्ति चुनिएका हुन् । 'देश पनि देखिने, मुख पनि फेरिने' शैलीमा हाम्रा सभासदहरूले यसबीचमा पटक(पटक गरी तीन सयभन्दा बढी विदेश भ्रमण गरिसकेका छन् ।
अमेरिका र युरोपदेखि छिमेकी चीन, हङकङ र सार्क क्षेत्रका मुलुक सयर गर्ने सभासदको सूचीमा माओवादी, कांग्रेस, एमालेलगायत ठूला दलका मात्र होइन, सदनमा एक सिट हुने दलका सभासद पनि उत्तिकै छन् । केही यस्ता सभासदसमेत छन्, जसलाई कति मुलुक गइयो भन्ने सम्झना राख्न पनि गाह्रो छ । अधिकांश विदेश भ्रमणको चाँजोपाँचो र खर्चबर्चको बन्दोबस्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मिलाएको देखिन्छ ।
संसद् सचिवालयबाट कूटनीतिक राहदानीका लागि सिफारिस लिनेको संख्यामात्रै ४ सय १८ छ । प्रधानमन्त्री, मन्त्री र उनीहरूको भ्रमण दलमा सहभागी भएर विदेश जानका लागि सचिवालयको सिफारिस आवश्यक नपर्ने भएकाले राता पासपोर्टधारी सभासदको संख्या यसभन्दा बढी छ ।
संसद् सचिवालयले सभासदका लागि 'भिसा नोट' दिन २ सय ९२ पटक परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको छ । 'भिसा नोट लेखाएर अन्तिम समयमा कार्यक्रम रद्द भएको पनि हुनसक्छ,' संसद् सचिवालयका एक अधिकारीले भने, 'तर यस्तो संख्या खासै छैन ।'
कतिपय सभासदले निजी भ्रमणमा जाँदा संसद् सचिवालयलाई जानकारी गराएका हुँदैनन् । सम्बन्धित देश वा संस्थाको निम्तोमा जानेलाई पराराष्ट्रले भिसा नोट दिइरहनु नपर्ने भएकाले त्यससम्बन्धी जानकारी पनि संसद्लाई हुन्न । त्यसैले सीधै जानेको संख्या अझ बढी हुनसक्छ ।
संविधानसभाका आधाजसो सभासदले यसबीचमा विदेश भ्रमणको मौका पाएको संसद्का ती अधिकारीले अनुमान गरे । संविधानसभाका सदस्यले विभिन्न समयमा गरी ५३ पटक संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका छन् । झन्डै चार दर्जन सभासदले अमेरिकी जीवनशैली साक्षात्कार गर्ने मौका पाएका छन् । त्यस्तै, २५ पटक बेलायत, ३० पटक क्यानडा, १९ पटक अस्ट्रेलिया भ्रमणको भिसा नोट जारी भएको संसद् सचिवालयको रेकर्डमा छ ।
सभासदका अन्य आकर्षक गन्तव्यमा स्विट्जरल्यान्ड, जर्मनी, दक्षिण अफ्रिका, जापान, नर्वे, फ्रान्स, स्पेन, बेल्जियम, दक्षिण कोरिया, फिलिपिन्सलगायत छन् । केहीचाहिँ इन्डोनेसिया, न्युजिल्यान्ड, इटली, मलेसिया, कतार, सिंगापुर, ताइवान, मेक्सिको, पोर्चुगल, काजकिस्तान, नेदरल्यान्ड, थाइल्यान्ड, सुडान, इजिप्ट, पोल्यान्ड, यूएई, फिनल्यान्ड, भियतनाम, टर्की, कम्बोडिया, नामिबिया, पाकिस्तान, बंगलादेश, श्रीलंका पुगेका छन् ।
विदेशिने सभासदले कहिले अध्ययन भ्रमण त कहिले अन्तर्राष्ट्रिय सम्मेलन, पार्टीमा पहुँच हुनेले प्रवास संगठनको काम लिएर घुम्ने मौका मिलाएको देखिन्छ । विदेश जानु नराम्रो नभए पनि सभासदले त्यहाँ सिकेको ज्ञानबाट मुलुकलाई कति फाइदा भएको छ भन्ने उत्तर खोजिनुपर्ने सभासदहरू नै बताउँछन् ।
'संघीयताको अध्ययनका लागि भनेर धेरैजना धेरैपटक विदेश गए तर अहिलेसम्म त्यहाँबाट यो सिकियो भन्या सुन्या छैन,' राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने ।
धेरैपटक विदेश सयर गर्ने केही सभासद भने टोली फर्केपछि आफूहरूबीच अनौपचारिक छलफल हुने गरेको तर पठाउने निकायले समीक्षा बैठकसमेत आयोजना नगर्ने बताउँछन् ।
माओवादी सभासद एकराज भण्डारी भने आफूहरूले गरेको अध्ययन भ्रमणबाट संविधान निर्माण प्रक्रियालाई सहयोग पुगेको बताउँछन् । 'म सहभागी भएको टोलीले भ्रमणबाट फर्केपछि लिखित प्रतिवेदन तयार परी सबै सभासदको पिजन होलमा हाल्ने व्यवस्था गरिएको थियो,' दक्षिण अफ्रिका र क्यानडा गएका भण्डारीले भने, 'आफू रहेको समितिको बैठकमा पनि अध्ययन भ्रमणको अनुभव आदानप्रदान गरेका थियौं ।' तर अधिकांश सभासदले विदेशबाट फर्केपछि यति पनि गरेका छैनन् ।
धैरे विदेश घुम्नेमा माओवादी विदेश विभाग प्रमुख सीपी गजुरेल पनि छन् । उनले २०६५ साउन २६ देखि फागुन ६ सम्ममा कतार, बेलायत, दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनी, बेल्जियम र जापान भ्रमण गरेका थिए । त्यही वर्ष कांग्रेसका देवराज जोशी दुईपटक अमेरिका गएका थिए । उनी अस्ट्रेलिया, क्यानडा र नर्वे पनि पुगेका थिए ।
साना दलका सभासदमध्ये सबभन्दा बढी विदेश पुग्नेमा नेपाल परिवार दलका एकनाथ ढकाल छन् । उनले २०६५ सालमै अमेरिका दोहोर्‍याउने मौका पाएका थिए । उनी जापान (दुईपटक), फिलिपिन्स र ताइवान पनि पुगेका थिए । दोस्रो वर्ष उनले क्यानडा र जापान भ्रमण गरेका थिए । २०६७ मै उनी दक्षिण कोरिया गए । दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले बेलायत, हङकङ, नेदरल्यान्ड र स्विडेन जाने मौका पाएका थिए ।
कांग्रेस नेता रामचन्द्र पौडेल २०६५ सालमा अमेरिका, बेलायत, जर्मनी र जापान पुगेका थिए । अर्को वर्ष उनले बेलायत र जापान दोहोर्‍याए । कांग्रेस नेता शेरबहादुर देउवा जर्मनी, बेल्जियम र अमेरिका पुगे ।
संविधान निर्माण अध्ययन भ्रमणका लागि २०६५ माघमा अग्नि खरेल, एकराज भण्डारी, पुष्पा भुसाल, सपना मल्ल दक्षिण अफ्रिका गएका थिए । खरेल त्यसपछि चीन र अस्ट्रेलिया पुगे । मल्ल अर्को वर्ष इजिप्ट गएकी थिइन् । २०६७ असोजमा क्यानडाको संघीय न्याय प्रणालीबारे अध्ययन भ्रमणका लागि सभामुख सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीमा पनि खरेल, भुसाल, भण्डारी र रामजनम चौधरी थिए ।
धेरै विदेश भ्रमणको अवसर पाउनेमा कांग्रेसका गगन थापा पनि हुन् । उनले यसबीचमा हङकङ, बेलायत, कतार, अस्ट्रेलिया, दक्षिण अफ्रिकालगायत मुलुकको भ्रमण गरेका छन् । उनका अधिकांश कार्यक्रम पार्टीसम्बद्ध नेपाली जनसम्पर्क समितिसँग सम्बन्धित थिए ।
तिलकबहादुर थापा मगर स्पेन (दुईपटक), बेलायत र स्विट्जरल्यान्ड पुगेका छन् । त्यस्तै पासाङ शेर्पा जापान र अमेरिका, विनोद पहाडी स्विट्जरल्यान्ड, दक्षिण कोरिया, सिंगापुर र मलेसिया, लक्ष्मी परियार न्युजिल्यान्ड र बेलायत (दुई पटक) गएका थिए । राप्रपा नेतृ प्रतिभा राणाले जापान, भियतनाम र अमेरिका भ्रमण गरेकी छन् भने फोरमका आशाकुमारी सरदार फिलिपिन्स, बेलायत र नर्वे पुगिन् । कांग्रेस सभासद महेन्द्रध्वज जीसी फिलिपिन्स र हङकङ, उर्मिला थापा इटली र जापान, शम्भु हजरा दुसाध बेलायत र फिनल्यान्ड गएका थिए । माओवादीकी जयपुरी घर्ती चीन र बंगलादेश, इन्द्रजित थारू जापान र भियतनाम, मालेका तिलकबहादुर थापा मगर अस्ट्रेलिया र थाइल्यान्ड पुगे ।
एमालेका ल्हारक्याल लामा बेलायत, जापान, चीन, प|mान्स र अमेरिका गएका थिए । पहिलो वर्ष नै बेलायत, अमेरिका, हङकङ र क्यानडा भ्रमणको मौका पाएका फोरम सभासद विश्वनाथप्रसाद यादवले अर्को वर्ष हङकङ, नर्वे, अस्ट्रेलिया, स्विट्रल्यान्डको भिसा लिएका थिए । २०६७ वैशाखयता भने उनले डेनमार्क र इथियोपियाका लागि भिसा नोट लिएका छन् । उनलाई क्यानडाले भने भिसा दिएन । यादवले अस्ट्रेलियाका लागि पनि भिसा नोट लिएको देखिन्छ तर आफू त्यहाँ नगएको उनको भनाइ छ । उनी रातो पासपोर्ट दुरुपयोगको अभियोगमा छानबिनको दायरामा छन् । एमआरपी लागू भएपछि विदेश जाने सभासदको संख्या भने १३ छ । माओवादी, कांग्रेस, एमाले र सद्भावनाका सभासदहरूको एक टोली नामिविया गएको थियो । त्यस्तै गत माघमा माओवादीका छ र फोरम लोकतान्त्रिकका एक सभासद अमेरिका पुगेका थिए ।
धेरैपटक जाने को-को ?
विश्वनाथप्रसाद यादव (फोरम): हङकङ (२ पटक), बेलायत, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्ड, इथियोपिया
एकनाथ ढकाल (परिवार दल) : अमेरिका र जापान (२/२ पटक), फिलिपिन्स, ताइवान, क्यानडा, दक्षिण कोरिया
सीपी गजुरेल (माओवादी) : कतार, बेलायत, दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनी, बेल्जियम, जापान
आरजु राणा (कांग्रेस) : अमेरिका, बेलायत, स्पेन, स्विट्जरल्यान्ड, टर्की, जर्मनी, बेल्जियम
रामचन्द्र पौडेल (कांग्रेस) : बेलायत र जापान (२/२ पटक), अमेरिका, जर्मनी
गगन थापा (कांग्रेस) : दक्षिण कोरिया, अस्ट्रेलिया, हङकङ, बेलायत, कतार, यूएई
तिलकबहादुर थापामगर (माले) : स्पेन (२ पटक), बेलायत, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, थाइल्यान्ड
ल्हारक्याल लामा (एमाले) : बेलायत, जापान, चीन, फ्रान्स, अमेरिका
देवराज जोशी (कांग्रेस) : अस्ट्रेलिया, अमेरिका, क्यानडा (२/२ पटक), नर्वे
प्रतिभा राणा (राप्रपा) : जापान, अमेरिका, टर्की (२ पटक)
वर्षमान पुन (माओवादी) : जापान, अमेरिका (२ पटक), चीन
विश्वेन्द्र पासवान (दलित जनजाति) : बेलायत, हङकङ, नेदरल्यान्ड, स्विडेन
गायत्री साह (जनता दल) : बेलायत (२ पटक), क्यानडा, अस्ट्रेलिया
अग्नि खरेल (एमाले) : क्यानडा, अस्ट्रेलिया, चीन, दक्षिण अफ्रिका
(संसद् सचिवालयले परराष्ट्रलाई भिसा नोट उपलब्ध गराउन गरेको सिफारिसका आधारमा)

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika