बैशाख १८ गते धादिङबेसी / घर पोत्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज गुम्दीमा २ जनाको मृत्यू भएको छ । धादिङको गुम्दि गाउँ विकास समिति वडा नं. १ चिम्चोकमा आज बिहान माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरीएर १२ वर्षिया ममिता तामाङ र १८ वर्षिया माइली माया तामाङको मृत्यू भएको स्थानीय प्रेमकुमार तामाङले जानकारी दिनुभयो ।
माटो खन्नको लागि उनीहरु सोहि गाविसको वडा नं. २ होलगुम्बा, लाकुरी चौतारा भन्ने ठाउँमा पुगेका थिए । त्यस गाउँका प्रायशः पुरुषहरु बैदेशिक रोजगारमा गएका कारण शव उठाएर दाह संस्कार गर्न समेत मुश्किल परेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।यसैबीच धादिङको कल्लेरी गाउँ विकास समिति वडा नं. ६ स्थित बेलिनिटारबाट एक बालक नुहाउने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका छन् । खाना खाएर नुहाउनको लागि त्रिशुलीमा गएका कल्लेरी ६ का ९ वर्षीय बालक दामोदर चितौरे मगर मध्यान्ह १२ वजेबाट बेपत्ता भएका स्थानीय निरज पुलामीले जानकारी दिनुभयो । मध्यान्ह देखि नै बालकको खोजी कार्य जारी रहेको भएपनि कुनै पत्तो लाग्न नसकेको स्थानीय बासीन्दाले बताएका छन् । घटना स्थलमा प्रहरी भने पुगेको छैन् ।

No comments:
Post a Comment